मुक्तिनाथ विकास बैँकको साना तथा लघु बैंकिङ्ग अन्तर्गतका सेवाग्राहीहरुलाई अनिवार्य र ऐच्छिक बचत गरी दुई प्रकारको बचतको सेवाहरु प्रदान गर्दै आइरहेको छ । सबै प्रकारका बचत तथा निक्षेप खाताहरुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमका शर्त र सीमाहरु लागु हुनेछन् ।
क. अनिवार्य बचत (सञ्चय बचत):
बैंकको लघुवित्त कार्यक्रम अन्तर्गत समूह पद्धतीमा आवद्ध सदस्यहरुको थोरै थोरै तर नियमित बचत गर्ने बानीको विकास गराउने तथा भविष्यमा सो संकलित रकमबाट पूँजी लगानी गर्न सहयोग पुर्याउने हेतुले मासिक रु. १००/– अनिवार्य बचतको व्यवस्था गरिएको छ । यो बचतमा बैंकले त्रैमासिक रुपमा तोकिएको व्याज प्रदान गर्दछ ।
ख . व्यक्तिगत बचत :
यो बचत खाता रु.१०० मा खोल्न सकिन्छ । यो खातामा आफूले चाहे अनुसारको रकम जम्मा गर्न र झिक्न सक्ने व्यवस्था छ । बैंकले प्रकाशित गरे बमोजिमको दरले त्रैमासिक रुपमा व्याज प्रदान गरिन्छ ।
ग. मुक्तिनाथ पेन्सन बचत:
मुक्तिनाथ पेन्सन बचत ऐच्छिक बचत योजना हो । यो योजना बमोजिम ग्राहकले नियमित रुपमा दीर्घकालसम्म बचत जम्मा गर्न सक्दछन् । यदि कुनै ग्राहकले मासिक रुपमा नियमित १५ वर्षसम्म समान रकम बचत गरेमा १५ वर्ष पश्चात् निजले जम्मा गरेको मूलधन बराबर नै बैंकले व्याज स्वरुप थप गरी एकमुष्ट भुक्तानी गर्दछ । तर यदि १० वर्ष वा सो भन्दा बढी नियमित रुपमा बचत गरेमा बचत गरेको मूलधनको आधा रकम व्याज स्वरुप थप गरी मुलधन सहित फिर्ता भुक्तानी गर्न सकिन्छ । यदि १० वर्ष वा सो भन्दा थोरै अवधि सम्म बचत गरेमा रकम भुक्तानी लिने दिनमा लागु भएको व्यक्तिगत बचतको व्याजदरले हिसाब गरी व्याज सहित बचत फिर्ता गरिनेछ ।
घ. उपकार बचत :
उपकार बचत समूह पद्धतीमा आवद्ध सदस्यहरुको साझा बचत खाता हो । हरेक महिनाको केन्द्र बैठकमा आउँदा प्रत्येक सदस्यहरुले आफूहरुले आपसी सहमतिमा तोकेको रकम नियमित जम्मा गर्ने गर्दछन् । प्रति सदस्य बचत रकम न्यूनतम रु.५/– रहेकोछ भने केन्द्रले अन्य श्रोतबाट गरेको आम्दानीको रकम पनि यही खातामा जम्मा गर्न सकिन्छ ।
ङ मुद्दती निक्षेप :
मुद्दती निक्षेप निश्चित समय अवधि तोेकेर गरिने बचत हो । सामान्यतयाः ग्राहकले यस खातामा अन्य बचतमा भन्दा बढी व्याज पाउँछन् । परिपक्व अवधि अगावै बचत रकम आवश्यक परेमा सोही निक्षेपलाई धितो राखी सापटीको रुपमा निश्चित प्रतिशत सम्म रकम झिक्न सक्दछन् । मुद्दती निक्षेपको व्याजदर समय समयमा बैंकले प्रकाशित गरे बमोजिम हुन्छ ।