हाम्रो खरको छानोलाई जस्ता पाता छायौ !
मुक्तिनाथ आयो र पो सबै कुरा पायौँ ! !
संसार नै अध्यारो थियो आर्थिक अभाब हुँदा ! ! !
मुक्तिनाथले साथ दियो मेरो मन रुँदा ! ! ! !
समस्या र पिडाले मान्छेलाई साहित्य सिकाउँदो रहेछ । आफ्ना दुःखका तानावानालाई साहित्यिक सिर्जना गर्दा गर्दै उहाँ साहित्यकार पनि बन्नु भयो र एक सफल उद्यमी पनि । माथि उल्लेखित हरफमा, ती विगतका दुःख र कष्टकर अनुभुतिले उहाँको साहित्य सिर्जनामा मलजल गरी रहेको प्रष्ट देखिन्छ । आज उहाँ खुसी र सुखी हुनुहुन्छ्, सुन्दर भविष्यको रुपरेखा कोरी सक्नु भएको छ । समाजले उहाँलाई एक संघर्षशील, ईमान्दार, नैतिकवान, सुशील र बौद्धिक व्यक्तिको रुपमा चिन्दछ । उहाँको समाजमा माथि भनिएका विशेषताहरु जोडेर, त्यो को हो भनी सोध्दा सायद अम्बीका देबी भण्डारी भनेर नचिन्ने कमै होलान् ।
उहाँ ढिकुरपोखरी, ठुलाचौर, कास्कीमा २०३७ सालमा जन्मनु भयो । विवाह पश्चात बच्चालाई पिठ्युँ र कोखामा बोक्दै भविष्य निर्माणको लागि पोखरा झर्नु भयो । २०६७ सालदेखि मुक्तिनाथ विकास बैंकको समूहमा आवद्ध भई विनाधितो रु. २० हजार कर्जा लिई चिया पसल ब्यबसाय शुरु गर्नु भयो । यो व्यवसायबाट उहाँलाई फाईदा पनि हुँदै गयो र व्यवसाय गर्ने सीप र कला पनि विकास हुँदै गयो । केही वर्ष सम्म चिया पसल संचालन पछि, व्यवसायलाई विविधिकरण गर्दै किराना पसल पनि विस्तार गर्दै जानु भयो र सोमा पनि सफलता मिल्दै गए पछि पेय पदार्थको डिलर पनि लिएर संचालन गर्दै आउनु भएको छ । अब, उहाँले चिया पसल छोडेर “करुणा किराना पसल” निकै राम्रो गरी सञ्चालन गरी रहनु भएको छ ।
यस अवधिमा उहाँले ७ पटक सम्म बिनाधितो कर्जा लिई चुक्ता गरी सक्नु भएको छ । अहिले पनि रु.४ लाख विनाधितो कर्जा सोही ब्यबसायमा नै लगानी गर्नुभएको छ । उहाँको पसलमा हाल करिव रु. ५० लाख भन्दा बढीको सामानहरु रहेको छ । रु. २० हजारको कर्जाको यात्रा आज निकै ठूलो भै सकेको छ । व्यवसायमा ईमान्दारिता र धैर्यतासंग मेहनत र संभावनाहरुको खोजी महत्वपूर्ण रहेको उहाँ बताउनु हुन्छ । व्यवसाय बृद्धि र साहित्य सिर्जनालाई निरन्तरता दिने उहाँको योजना रहेको छ ।