Wednesday December 4, 2024
वि.सं २०८१ मंसिर १९ बुधबार
European Microfinance Award
En

सफलता प्राप्तीको लागी यामकुमारीको निरन्तर प्रयास

Syangja / Gandaki Pradesh / स्याङ्जा जिल्ला ,भाटखोला गा.वि.स., वडा नं. ९
Phedikhola Branch
382021-01-08

सफलता एक किसिमको अनुभूति हो । पूर्ण शक्ति लगाएर गरेको कामबाट भेटिने लक्ष्यले मिठो एउटा अनुभूति दिन्छ । यही अनुभूतिबाट मिल्ने एक प्रकारको सन्तुष्टीबाट नै सफलता मापन गरिन्छ । 

स्याङ्जा जिल्ला भाटखोला गा.वि.स. वडा नं. ९ वि.सं. २०११ सालमा पिता हिरालाल थापा र माता खगी थापाको २ वटा दाजु ३ दिदिबहिनी मध्ये जेठी छोरीको रुपमा यामकुमारी खत्रीको जन्म भयो । ७ जनाको परिवार पाल्न बुबाआमा कृषिमा मात्र निर्भर रहनुहुन्थ्यो । त्यसैले उनको वाल्यकाल सामान्य रुपमा नै वित्यो । अन्य आम्दानीको स्रोत नभएको हुँदा सबै परिवार कृषि पेशामा नै व्यस्त हुँदा र बुबा आमाको अर्काको घर जाने छोरीको जातलाई पढाउनु हुदैन भन्ने गलत सोचको कारण विद्यालय जानबाट बन्चित थिईन । यामकुमारी घर गोठ र खेतीपातीको काममा रमाउदै उनका दिनहरु वित्दै थिए । उनी १४ वर्षको मात्रके थिईन, पुरानो संस्कार रितिरिवाजका चलनले गर्दा चेलीलाई धेरैै समय माईत राख्नु हुदैन । राम्रो घर केटो आए विवाह गर्नु पर्छ भन्ने सोच थियो उनको बाबु आमाको । 

यसै क्रममा १४ वर्षको कलिलो उमेरमा स्याङ्जा जिल्ला फेदीखोला गा.वि.स. वडा नं.१ स्थित दल बहादुर खत्रीसंग उनको मागी विवाह भयो । उनी पनि अनपढ र श्रीमानको पढाई कम भएकोले रोजगारीमा (सामान्य मिस्त्री) दिनहुँ काम पाइदैनथ्यो । कामहुुने दिनमा दैनिक रु. ५० हुन्थ्यो । यसरी दिनहरु वित्दै जाँदा उनको कोखबाट २ छोरा अनि ३ छोरीको जन्मभयो । विवाहसंगै उनको काधमा अझ थप जिम्मेवारी थपियो । जीवन जिउँनको लागि संघर्षका दिनहरु शुरु भए । यस्तो महंगी अवस्थामा ७ जनाको परिवार चलाउन धौ धौ पर्न थाल्यो, खर्चहरु बढ्दै गयो तर आम्दानी भने उत्तिकै ज्याला मजदुुरी बाहेक अरु केही थिएन । माईतीमा पनि बुबाआमा अशिक्षित ठुलो परिवार र अन्य आम्दानीको बाटोहरु नभएको कारण विद्यालय गई पढ्ने अवसर नपाएको याम कुमारीले छोरा छोरीलाई राम्रो शिक्षादिक्षा दिई आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाउनु पर्छ । यस्तो बढ्दो महंगी छ । श्रीमानको कमाईमा मात्र भर पर्नु हुदैन् । छोरा छोरीको शिक्षादिक्षा राम्रो पालन पोषणको लागि मैले पनि केही गर्नु पर्छ भन्ने सोचले रातमा निद्रा न दिनमा भोक हुनथाल्यो उनलाई ।

यसै क्रममा मुक्तिनाथ विकास बैंक शाखा कार्यालय फेदीखोलाले लघुवित्त कार्यक्रम मार्फत महिलालाई समूहमा आवद्ध गराई विना धितो कर्जा दिने थोरै भए पनि वचत संकलन गर्ने भन्ने कुरा थाहा पाईन ।ूउनलाई त के खोज्छस कानो आँखोू भने झै भयो र खुशीको सिमा नै रहेन उनमा । त्यसपछि उनकै पहलमा १५ जना महिला दिदिबहिनीलाई भेला गराई उनी सहितको २०६६/०२/१७ मा १५ जनाको केन्द्र गठन भयो ।२०६६/०३/१८ मा प्रथम पटक भैसी पालनको लागि रु. २५,०००/– कर्जा लिईन् । सो रकममा रु.५,०००/– आफ्नो थप गरी एउटा लैनो भैसी किनिन् । त्यसबाट मलको सदुपयोग भयो । दैनिक ३ माना दुध पनि बेच्न थालिन त्यसबाट दैनिक रु.६०/– कमाई हुनथाल्यो । मासिक रु. ११५/– का दरले बचत पनि जम्मा गर्दै गईन, भैसीबाट भएको आम्दानी र श्रीमानको कमाईले किस्ता तिर्न कुनै दिन समस्या भएन । अझ उनमा आत्मबल बढ्दै गयो । उनी भन्छिन् व्यवसाय गर्ने कहिल्यै पनि गरिब नहुँदो रहेछ । आफ्नो कमाई पर्खेर, वचत गरेर भैसी किन्छु भन्ने जो गरेको भए भैसी गोठमा हुन्थ्यो वा हुदैनथ्यो । संस्थाको विना धितो कार्यक्रम मार्र्फत एकै चोटी रु.३०,०००/–मा भैसी किन्न सफल भइन् । त्यस भैसीको दुधको आम्दानीबाट थोरै थोरै मासिक रुपमा ऋण घटाउन पाएँ । १ वर्षमा भैसी आफ्नो भयो भन्दै गर्वको अनुभूति गर्छिन उनले । 

दोस्रो विनाधितो कर्जा रु.३०,०००/–मा लिएर ब्रोईलर कुखुरा पाल्ने योजना तय गरी घर नजिकैको एउटा ठुलो कोठा रु.२,०००/– मा भाडामा लिएर १०० वटा कुखुराको चल्ला सहित दाना औषधी खरिद गरी कुखुरा पालन व्यवसाय पनि अगाडि बढाईन । लगभग ६० दिन पुग्दा ती कुखुरा बेचेर खुद नाफा रु. ९,०००/– गर्न सफल भईन् । अब घर खर्च टार्न र बैंकको किस्ता तिर्न श्रीमानकै मुख ताक्नु परेन उनलाई । उनले कुखुरा पालन व्यवसायलाई अझ व्यवसायिक र व्यवस्थित बनाउन अझ उत्साह थपियो । उनले तेस्रो पटक विशिष्ट कर्जा रु.९०,०००/– लिएर २०,०००/– थप गरी पुरानो भैसी साटिन, कुखुराको चल्ला १५० भाडाको कोठमा र ५० वटा घर छेउमा खोर बनाएर पाल्न थालिन् । रु. १०,०००/– बराबरको ४ वटा बाख्रा पनि किनेर पालिन, फेरि कुखुराबाट २७,०००/– नाफा भयो, बाख्रा ८ वटा भए लगभग रु.४५,०००÷– बराबरको, त्यसपछि आफ्नो मात्र लगानीले २०० वटा कुखुरा पालिन । त्यसपछि त्यसबाट रु.१९,०००/– नाफा भयो । उनी भन्छिन् “कुखुरा व्यवसायमा लागे पछि खोर पनि खालि भएन, हातमा पैसा पनि खालि भएन ।”

भैसीको दुध बिक्रीबाट कुखुरा पालन र बाख्रापालनको आम्दानीबाट सामान्य भएपनि छोरी विहे गर्न अन्यबाट ऋण खोज्नु परेन । आट र साहसको साथ मेहनत र लगानी गर्न सके पैसा कमाउन सकिदो रहेछ भन्ने उनमा अनुभव छ । चौथो पटक रु. ३०,०००/– साधारण कर्जा लिएर कुखुरा पालन गरेकी छिन् । निजले हाल क्रमश पांचौ, छैठौ सातौ गर्दे नौ पटक साधारण कर्जा र १ पटक विशिष्ट कर्जा चलाउदै व्यवसाय वृद्धी गर्दे जानुभएको पाईयो । हाल विनाधितो कर्जा १० पटक गरेर  रु ७,६६,०००।– लिई सकेकी छिन् । उनीसंग अहिले रु. १४०,०००/– बराबरको भैसी छन् । ९ वटा बाख्रा रु. ९०,०००/– बराबरको छ । पछिल्लो कुखुराबाट रु. १००,०००/– नाफा आशा गरेकी छिन् । व्यवसायबाट १ तोलाको सुनको सिक्री तथा १ तोलाको औठी बनाएकी छिन् । तिर्न बाँकी कर्जा रु. १८,३२८।– छ । सबै गरेर बचत रु ३१,९०९।– छ । 

पशुपालन व्यवसायबाट नै १ छोरा र १ छोरी बि. ए.पढाई हाल विवाह समेत गराई सक्नुभएको छ भने एक छोरा अहिले व्याचलर पढ्दै गरेका छन् । हाल सम्म ३ छोरीको बिहे भइसेकेको छ । छोराहरु प्नि जागिरे भएका छन र ६ जनाको परिवारलाई सुख सयलमा राम्रोसँग जिउने वातावरण बनाई आफु समाजमा स्वावलम्बी महिलाको रुपमा उभिन सफल भएकी छिन् । 

इन्द्रेणी बन्नका लागि वर्षा र घाम दुवैको उपस्थिति आवश्यक छ हाम्रो जीवन पनि यो भन्दा भिन्न छैन यहा दुःख सुःख असल खराब उज्यालो अँध्यारो छ यि सबै मिश्रणले बनेको हुन्छ ,मानिसको जिन्दगी तयसैले भनिन्छ “दुःखमा नआत्तीनु र सुःखमा नमात्तीनु ”भन्ने उखानको सार्थकता उनले पुष्टी गरेकी छन् ।